कुन्साङ

Kunkhen lost in the Ding River

काठमाडौँ — शान्त थियो ङिङ खोला, चुपचाप आफ्नै लयमा बगिरहेको । तर, त्यही शान्त ङिङ खोलालाई हेर्नेहरूको अनुहारमा थोरै पनि शान्ति थिएन । ङिङ (मुटु) खोला बीचको ढिस्कोमा अड्किएको बाछो जुमालाई हेरेर कराइरहेको थियो । यता खोलावारि जुमा र गोठालो उसैगरी छट्पटाइरहेका थिए । जुमा घरिघरि खोलाको किनारसम्म जान्थ्यो, फेरि फर्केर गोठालो भएकै ठाउँमा आउँथ्यो । निरीह गोठालो घरि बाछोलाई हेर्थे घरि जुमालाई ।

चुपचाप बगिरहने ङिङ खोलामा पानीको बहाव बढ्दै थियो । गोठालो, बाछो र जुमाको ङिङको गति पनि उस्तै गरी बढिरहेको थियो । ङिङ खोलाको बढ्दो बहावमा घामले कतै टाढा डुबुल्की मार्‍यो । घामले डुबुल्की मारेसँगै बाछो पनि सानो–सानो देखिन थाल्यो । घाम जस्तै डुबुल्की मारेर गोठालो औ (काका) रिक्प बाछो लिन जान सकेनन् । उनी त बरु विगतको धमिलो स्मृतिमा डुबुल्की मार्न पो थाले ।

त्यो दिन ङिङ खोला शान्त थिएन । डरलाग्दो गरी बगिरहेको थियो, मानौं ऊ रिसाएको हो । औ रिक्प, मात्पा (तल्लो) कुन्खेन र तोत्पा (माथिल्लो) पान्मा मार (घ्यु) बेच्न पुराङतिर हिँडेका थिए । बिहानै खर्कबाट हिँडेका उनीहरू ङिङ खोला पुग्दा पानीको बहाव बढिसकेको थियो । तीन भाइ निक्कैबेर खोलाको किनारमै बसिरहे, पानीको बहाव घट्ने आसमा । लेकको चिसोले अमिलो भएको छ्याङसँग चिसै भइसकेको फापरको रोटी खाए । ङिङ खोलाको किनारमै भकभक उम्लिरहेको थियो, क्ष्युर्कु (तातोपानी) ।

मूलभन्दा अलि तल खाल्डो खनेर क्ष्युर्कु पोखरी जस्तो बनाएको थियो । भकभक उम्लिने क्ष्युर्कु त्यहाँ पुग्दासम्म अलि कम तातो भइसकेको थियो । क्ष्युर्कुमा उनीहरूले हात मुख धोए । दुखेको खट्टा क्ष्युर्कुमा डुबाए, पुराङ पुग्न अझै २ दिन हिँड्नै बाँकी थियो । बायाँ हातको बूढी औंलामाथि राखेको नस स्वाट्टै तानेर औ रिक्पले भने, ‘जमिनबाट निस्केको क्ष्युर्कुले जिउको दुखाइ निको पार्छ ।’

सानो ढुंगामाथि बसेर खुट्टाको मौलो माड्दै कुन्खेनले जोडले डकार मारे, मानौं औ रिक्पको कुरा सुनेर डकारेको हो । औ रिक्पले उनीतिर हेरेर थपे, ‘ल हेर, अब ढुंगाको चेपबाट निस्किने क्ष्युर्कु पनि खोज्नुपर्ने भयो । ढुंगाबाट निस्किने क्ष्युर्कुले यस्तो डकारसकार, पेटको रोग सबै ठीक पार्छ है ।’

तीन जनामा सबैभन्दा पाको पनि औ रिक्प नै थिए, धेरै बोल्ने पनि उनै । औ रिक्पको कुरा सकिन नपाउँदै कुन्खेनले थपे, ‘अब मारहरू जिउमा लगाउँदै क्ष्युर्कुको बाफ लिँदै बस्नुपर्ला जस्तो छ कि कसो औ रिक्प ? अनि घर जाने विचार छैन कि क्या हो ? कि उतै पुराङतिर ज्वाइँ बस्ने सोच्यौ त ?’ औ रिक्पको कुरा सुनेर चुपचाप बसेका पान्मा पनि मजाले हाँसे । एकअर्कासँग ठट्टा गर्ने भएकाले यात्रा झनै रमाइलो भइरहेको थियो ।

खोला पारिको क्ष्युर्कुबाट पनि बाक्लो बाफ उडिरहेको थियो । वारिबाट झट्टै हेर्दा लाग्थ्यो, धूवाँ उडिरहेको हो । पान्मा एकोहोरो सोच्दै थिए, कसरी जमिनबाट आफैं तातोपानी निस्केको होला ? यसो मुन्टो घुमाएर क्ष्युर्कुको मूलतिर हेर्दा आगोमा बसालेको पानी जसरी भकभक उम्लिरहेको छ । तर, बिना कुनै आगो । उनी सानो हुँदा एपीलाई यो कुरा सोध्थे । उनको एपी भन्थिन्, ‘जमिनमुनि म जस्तै एपी बसेको छ, उनै एपीले चिसो ठाउँमा बस्ने नातिनातिनीका लागि पानी तताएको हो ।’

निक्कैबेर कुर्दा पनि पानीको बहाव घटेको थिएन । वरिपरि न कुनै घोडा देखिन्थ्यो न कुनै घोडचढीहरू नै आए । खोला झन्झन् बढिरहेको थियो । यस्तो लाग्थ्यो, रात पनि खोलाको डिलमै आइसकेको हो । रात पर्न थालेपछि उनीहरू आत्तिन थाले । फर्किएर जाने ठाउँ थिएन, खोला किनारको चिसोमा रात कटाउन सकिँदैनथ्यो । पानी परेपछि ओत लाग्ने ठाउँ पनि त थिएन । बास पाउन खोला त तर्नै पर्थ्यो, तर खोला तर्ने पो कसरी ?

छ्याङ अमिलो भए पनि कडा थियो । तीनै भाइलाई अमिलो छ्याङले हल्का रमरम बनाइसकेको थियो । एक जनाले भने, ‘रात यहाँ कटाउन सकिँदैन, चिसो अझै बढ्नेवाला छ । हात समातेर खोला तर्ने आँट गरौं ?’ उनको कुरा सुनेपछि अर्को दुई जनाले पनि हिम्मत बटुले । तीनै जनाले आ–आफ्नो ग्यमी पोलो (चाइनिज जुत्ता) भारीमा बाँधे । र, एकअर्काका हात समातेर खोला तर्न तयार भए । खोलाको किनारमा पुगेपछि तीनै जनाको मुखबाट एकै पटक जस्तो ‘कुन्जोकसुम’ निस्क्यो । पानीमा खुट्टा हाल्नु पहिले एकअर्काको अनुहारमा हेराहेर गरे र मुसुक्क हाँसेर खोला तर्न तयार भए ।

स्मृतिका गल्लीहरूमा हराएको औ रिक्पलाई झमक्क रात परेको पत्तै भएन । पानी गड्गडाएर बग्न थालेपछि बाछो कराएको आवाज पनि मसिनो सुनिन थालेको थियो । दिउँसो खोला सानो हुँदा ढिस्कोमा पुगेको बाछोको छटपटी पनि रातसँगै बढिरहेको देखिन्थ्यो । जसरी खोलाले कुन्खेनलाई बगाउँदा उनीहरू छट्पटाएका थिए, जुमा त्यसरी नै खोला किनारमा छट्पटाइरहेको थिइन् । औ रिक्प खर्कतिर फर्किन लागेको देखेर जुमाले बाँ….गरेर सहायता मागिन् । एकछिन रोकिएर जुमालाई हेरे । जुमा कराउन छाडेर बाछोतिरै हेर्न थालिन्, त्यही मौका छोपेर उनी खर्कतिर फर्किए ।

भदौको कुहिरोले खर्कलाई सर्लक्क ढाकिएको थियो । शीतमा लपक्क बिझेको चुँ (अग्लो ठाउँमा उम्रिने घाँस) एकदमै ताजा देखिन्थ्यो । औ रिक्प बिहानै उठेर ङिङ खोला किनारमा पुग्यो । खोला छेउछाउको घाँसहरू भर्खर तंग्ररिन खोज्दै थिए । घाँस हेर्दा लाग्थ्यो, राति खोलाको बहाव निक्कै बढेको थियो । बाक्लो कुहिरो अझै हटेको थिएन, खोला वारिपारि केही देखिन्नथ्यो । औ रिक्पले एकछिन सास रोकेर बाछोको आवाज सुन्न खोजे । तर, पानीको आवाजबाहेक केही सुनिएन । मुन्टो तन्काएर बाछो भएको ठाउँतिर हेरे, कुहिरोबाहेक केही देखिएन ।

जुमा खोला किनारमै पर्खिरहेकी थिई । उनलाई त्यहाँ देखेर जुमा फेरि छट्पटाउन थालिन् । बाँ, बाँ…गरेर फेरि सहायता माग्न थालिन् । एक पटक त जुमा खोलाको बीचसम्म पुगेर फर्किइन् । जुमालाई हेरेर पानीको बहाव अझै नघटेको अनुमान गर्न सकिन्थ्यो । एकछिन खोला किनारमा बसेर औ रिक्प फेरि खर्कतिरै फर्किए । उनी खर्क पुग्दा बिहानको घाँस चरेर दुहुनो जुमा र चौंरीहरू खर्क फर्किसकेका थिए । वनबाट आफैं फर्किएर आएको जुमा र चौंरी देखेर उनको अनुहार उज्यालियो । नजिकैको गोबरहरूलाई रोटी जस्तो बनाए र सुकाउन ढुंगामा टाँसिदिए । उनी बेलाबेला कुहिरो हटे/नहटेको हेर्थे, फेरि आफ्नो काममा लाग्थे ।

मार डल्लो पार्दै गर्दा त्रिपालको सानो प्वाल हुँदै घाम उनको घरमै पस्यो । परबाट हेर्दा उनको घर छाता ओडेर बसको मान्छे जस्तो देखिन्थ्यो । डोरीको एउटा टुप्पो ठूलो ढुंगामा र अर्को टुप्पो भोजपत्रको हाँगामा बाँधेर त्यसमाथि पहेँलो रङको त्रिपाल टाँगेर घर बनाइएको थियो । अरूको घर पनि त्यस्तै नै देखिन्थ्यो । आकार–आकारको ढुंगा बटुलेर उनले भाँडाकुँडा राख्ने ठाउँ बनाएका थिए ।

काठको डाडु–पन्युँ मुसादेखि बचाउन त्रिपाल टाँगेको डोरीमा अर्को डोरी बाँधेर तुर्लुङ्ग झुन्ड्याएका थिए । चिसोबाट जोगिन भुइँमा सुकेका घाँस र भोजपत्रको पात बिछ्याइएको थियो । तीनवटा ढुंगाको टाउको जोडेर उनले चुलो बनाएका थिए । चुलोको एकापट्टि आफैं सुत्ने र अर्कोपट्टि पाहुना बस्ने ठाउँ बनाइएको थियो । औ रिक्पले सानो त्रिपालभित्र बाछोदेखि सबथोक अटाएका थिए ।

बाछाको गोबरबाट बाफ उडिरहेको थियो । गोबरको गन्ध घरभरि फैलिएको भए पनि बानी परिसकेको उनको नाकले कुनै चाल पाएन । घरभित्रको काम सकेर बाहिर निस्किँदा उनले बाछोको गोबर हातले उठाएर बाहिर फाले । आँखै तिरमिराउने चर्को घाम लागेको थियो । निधारमा हात राखेर वरपर हेरे, घाम लागेपछि कुहिरो बिस्तारै हिमाल चढ्दै थियो । अरू गोठालोहरू पनि खाना पकाउन व्यस्त देखिन्थे । एकदुई जना घाममा ढाड सेकाइरहेका पनि थिए । दिउँसो एकछिन त हो, गोठालोहरूले आराम गर्न पाउने पनि । एउटा काम नसक्दै अर्को काम

आइहाल्ने ! गोठाले जीवनमा फुर्सद भन्नु नै यत्ति हो । चिसो भुइँबाट उडेको बाफ सँगसँगै उडिरहेको थियो– धूवाँ । उनी हतारहतार खोलातिर लागे । कुहिरो हटेपछि खोला वारपार छ्याङ्ङ देखिए पनि बाछो देखिएको थिएन । दुई खोलाबीचको ढिस्कोमा सुतेको घाँसबाहेक केही थिएन । ग्येमी जुत्तालाई किनारमै राखेर उनी खोला तर्न थाले । औ रिक्पलाई पछ्याउँदै जुमा पनि त्यहीं आइपुगिन् । अरू मान्छेहरू पनि उनलाई सहयोग गर्न पछिपछि आइरहेका थिए ।

चिसो पानीमा खुट्टा हालेपछि पूरै जिउको हड्डी नै कंक्रिएर भाँचिएको जस्तो भयो । एकछिन हलचल गर्नै सकेनन् । पानीको बहाव पनि निक्कै घटिसकेको थियो । ‘खोला यस्तै सानो भएको बेला बाछो पारि गएको हुनुपर्छ,’ उनले मनमनै सोचे । छिमेकी पाल्मो पनि उनीसँगसँगै खोला तर्न लागेको देखे । अरू मान्छेहरू खोला किनारमै पर्खिए । खोलाको बीचतिर पुग्दा उनीहरूलाई थाहा भइसकेको थियो, बाछो त्यहाँ छैन । तर, पनि खोला तरेर हेर्नु थियो । ढिस्कोमा सुतेका पातबाहेक केही थिएन । कुनैकुनै पातमा बाछोको खुट्टाले प्वाल पारेको प्रस्टै देखिन्थ्यो । छालले किनारतिर पुर्‍यायो कि भनेर त्यता पनि हेरे, तर त्यहाँ पनि बाछो देखिएन । उनीहरूको पछिपछि जुमा पनि त्यहीं आइपुगिन् । जुमाले हरेक पातलाई यसरी सुँघ्न थालिन्, मानौं उनी

आफ्नो बच्चाको बास्नालाई आफैंमा कैद गर्न चाहन्छिन् । जुमा छट्पटाइरहेको देखेर औ रिक्प र पाल्मो दुवै जनाको आँखा रसाए । दुई किनार फर्किएर एकछिन चुपचाप उभिए । पाल्मोले जुमाको ढाडमा मायाले मुसार्दै भनिन्, ‘सर्मु (जुमाको नाम घर हिँड् । तेरो बच्चा खोलासँगै बगेर कतै टाढा पुगिसक्यो । अब फर्किन्न ।’ उनको कुरा सुनेर जुमा चुपचाप खोला तर्न थालिन् । लाग्थ्यो, जुमाले सबै कुरा बुझेको हो ।

खोला किनारमा जाने–आउने जुमाको दिनचर्या नै बनेको थियो । बाछोलाई बगाएदेखि औ रिक्पलाई विगतको घटनाले लखेटिरह्यो, खोला बड्दा पनि, खोला सुक्दा पनि ।

जिन्दगी–कहिलेकाहीं किनारले पनि डुबाउँदोरहेछ । ङिङ खोला वरिपरि बाँच्नेहरूलाई अचेल त्यस्तै लाग्न थालेको थियो । वर्षौं पहिले मार बेच्न जाँदाको त्यो साँझ ङिङ खोला तर्दा औ रिक्पलाई यस्तै लागेको थियो । खोलाको बहाव उस्तै थियो, हरेक पाइलासँगै पानीको उचाइ बढिरहेको थियो । पानीको उचाइसँगै कुन्खेनलाई रिंगटा लाग्न थालेको थियो ।

तैपनि उनलाई विश्वास थियो, साथीहरूले मज्जाले हात थामेका छन्, खुट्टा सँगसँगै चलायो भने कसो खोला नतरिएला ! खोलाको आवाज यत्ति भयानक थियो, यस्तो बेला साथीहरूलाई भन्दा पनि केही सुनिनेवाला थिएन । खोलाको बीचतिर पुग्नै लाग्दा कुन्खेनको आँखा तिरीमिरी भयो । कानमा अनेक आवाज गुञ्जिन थाल्यो । बेलाबेला बान्ता होला जस्तो पनि भयो । दिमागले कामै गर्न छोड्यो । खुट्टाको बल आफैं हराए जस्तो भयो । उनको संसार फनफनी घुम्न थाल्यो । चारैतिर धमिलो देख्न थाले । दृष्टि धमिलो भए पनि उनको अगाडि एक एक गरेर बाआमा, छोराछोरी, श्रीमती र अरू साथीभाइको अनुहार आइरह्यो । तर, उनले खुट्टा भने चलाउन छोडेका थिएनन् ।

किनारमा पुग्नै लाग्दा कुन्खेनलाई चारैतिरका अग्ला हिमालहरू फन्फनी घुम्दै आफैंमाथि खसे जस्तो लाग्न थाल्यो । र, अचानक खुट्टा चल्न छाडे । बल गरेर खुट्टा उठाउन खोज्दा पनि हलचल गर्न सकेनन् । अचानक उनीहरू लडे । औ रिक्प र पान्मा एकतिर पछारिए । पानीमा लड्दा उनीहरूले पनि केही चाल पाएका थिएनन् । खोला तर्दातर्दै अचानक के भयो, कसैले पनि भेउ पाउन सकेनन् । एकछिनको शून्यता पछि पान्माले हात चलाए– उनको भारी सानो ढुंगामा अड्किएको थियो ।

छेवैको ठूलो ढुंगाको आड लिएर औ रिक्प बल गरेर उठ्न खोजिरहेका थिए । दुई जना बल्लतल्ल उठे । तर, कुन्खेन कतै देखिएका थिएनन् । औ रिक्प र पान्माले यताउता हेरे । चारैतिर पानी, मात्र पानी थियो । दुवै जनाले अरू केही देखेनन् । भारी बगरतिर फालेर दुई जना कुन्खेनलाई खोज्न थाले, किनारै किनार दगुर्दै टाढाटाढा पुगे– कुन्खेन, कुन्खेन……हजारौं पटक बोलाए । तर, पानीको आवाजबाहेक केही सुनिएको थिएन । मुटु उफ्रेर बाहिर आउला जस्तो भएको थियो । नाङ्गो खुट्टामा कत्ति काँडा बिझे, कत्ति ठाउँमा ठोक्किए उनीहरूले हेक्का गरेनन् । कुन्खेनलाई बोलाउँदै किनारैकिनार दुगुरिरहे ।

पानीको बहाव झन्झन् बढिरहेको थियो । उनीहरूको आवाज सुनेर वरिपरिका खर्कबाट मान्छेहरू जम्मा भए । त्यत्ति बेलासम्म रात झमक्कै परिसकेको थियो । कुनै हाँगा वा ढुंगामा अड्किएको पो छ कि भन्ने झिनो आसमा कुन्खेनलाई खोजिरहे, न लास भेटियो न भारी नै ।

बाछो बगाएको घटनाले औ रिक्पलाई विगतमा पुर्‍यायो । कुन्खेन हराएको लामो समयपछि त्यही खोलामा बाछो त्यसरी नै हराएर गयो, जसरी कुहिरोमा काग हराएर जान्छ, जसरी वषौंपहिले कुन्खेन हराएको थियो । त्यही घटनापछि त हो कुन्खेनका श्रीमती र बच्चाहरूले गाउँ छाडेको पनि । फुरु निकाल्न गएको पान्मा पनि उतै हराए ।

बाछो बगाएको दिनदेखि औ रिक्पको हरेक रात अनिँदै बित्न थाले । अनिँदो र लामो रातमा अनेक–अनेक कुराको सम्झना आउँथ्यो उनलाई । न आँसु पुछ्ने कोही थियो न त सँगै आँसु खसाल्ने नै । कहिलेकाहीं उनी आफैंलाई सोध्थे, छोराछोरीहरूले गाउँ छाडेर गए । अब बूढी पनि रहिनन् । म एक्लो यहाँ किन छु ?

कुन्खेन बितेको पनि वर्षौं भइसक्यो, तर बयुल (सुखी) गाउँ उस्तै छ । गाउँलेहरू त्यसरी नै जोखिम मोलेर ङिङ खोला तर्दै छन् । खै त बयुल गाउँ बयुल जस्तो भएको ? कहिले होला त बयुल जस्तो ? बयुल गाउँमा ङिङ खोलाको कुरा चुनावसँगै आउँथ्यो र पुल बनाइदिने वाचा गर्नेहरूसँगै हराएर जान्थ्यो ।

गाउँमा गाडी आउने बाटो त बन्यो, गाडी पनि आयो । अहिलेसम्म ङिङ खोलामा पुल बनाउने भनेर कति पटक नापे, अब त उनलाई सम्झना पनि छैन । दिनभरि काम, रातमा थकानले उनलाई सोच्ने फुर्सद नै कहाँ छ र ? फेरि पुल बनाउने हल्ला चलेको छ । त्यही त हो, यो पटक पनि हल्ला मात्रै त होला । मनमनै सोचेको कुरा अचानक मुखबाट निस्किँदा आफ्नै आवाज सुनेर झसंग भए उनी । बोल्ने साथी नभएपछि चुपचाप बसेको औ रिक्पलाई आफ्नो आवाज सुनेर अनौठो लाग्यो । लाज लागेजस्तो पनि भयो । लाज हटाउन उनले ख्वाकख्वाक खोके ।

रात अझै बाँकी नै थियो । समयले कोल्टे नफेरे पनि उनी अर्कोतिर कोल्टे फेरे । भोजपत्रको पातको स्यारर्स्यार आवाज सुनेर बाछोहरू फटाकफुटुक गर्न थाले । फेरि सोच्छन् उनी, यो वर्ष त पुल बनाइ पो हाल्छ कि ? हरेक पटक जस्तै यो पटक पनि उनले पुलको आशा मारेका थिएनन् । हुन त पुल बनाए पनि के नै हुन्छ ? गाउँमा बाटो आए पनि जानेहरू त गए । ताक्लाकोट, सिमकोट बाटो जोडिएको छ । तै पनि गाउँको दुःख त उस्तै नै हो नि । गाउँको छाडेर कतै जान मन लाग्दैन । दुखिरहने ङिङलाई बेलाबेलामा ङिङ खोलाले पनि दुखाइरहन्छ ।

ङिङ खोलाले दिएको ङिङ दुखाउने यादहरू धेरै छन् । तै पनि यही ठाउँकै माया लाग्छ । गाउँतिर फेर्केर हेर्दा उसलाई दिक्क पनि लाग्छ । नजिकको चार गाउँ लगभग खाली भइसक्यो । आफ्नै गाउँठाउँमा मर्छु भन्ने बूढाबूढी र सहरी जीवन थेग्न नसक्ने दुई चार जनाबाहेक कोही छैनन् यहाँ ।

उनी फेरि कोल्टे फेर्न खोज्छन्, अब त आफ्नै जिउको हड्डीले आफैंलाई घोच्न थालेको छ । अहो ! मर्ने दिन पनि नजिकिँदै छ । आज सहर जान नसकेकाहरू भोलि पैसा कमाएपछि कसो नजालान् ? अनि गाउँमा बूढाबूढी मात्रै ? कोही मर्‍यो भने मलामी पनि तिनै बूढाबूढीहरू नै ? अहो ! सम्झिँदै दिक्क लाग्छ । रात छिप्पिँदै जाँदा उनको सोचाइको गहिराइ पनि बढ्दै गइरहेको थियो ।

तन्नेरी हुँदादेखि बुढ्यौलीसम्म आइपुग्दा औ रिक्पले देखेको, भोगेको बयुल गाउँलाई सम्झिए, बयुल गाउँवासीको जीवनमा खासै परिवर्तन आएको थिएन । उस्तै थियो– दैनिकी । उस्तो थियो– दुःखको हिमाल । ङिङ खोलामा बेलाबेलामा गुड्ने गाडीहरूले न त गाउँलेहरूलाई खोला तार्न सक्यो न त दुःखहरू नै तारेर लैजान सक्यो ।

प्रकाशित : पुस २७, २०८१

स्रोत : https://ekantipur.com/koseli/2025/01/11/kunkhen-lost-in-the-ding-river-01-00.html